राष्ट्रिय

बालेनको घोषणा: गरीब र अशक्तका लागि ३७४ ओछ्यानमा निशुल्क उपचार!

Samayapati

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आर्थिक रूपमा कमजोर र अशक्त व्यक्तिहरूका लागि काठमाडौंमा निशुल्क उपचारको व्यवस्था गरिएको घोषणा गरेका छन्।

यो पहलअन्तर्गत ५२ अस्पतालमा ३७४ ओछ्यान छुट्याइएको जसको लागि लाभार्थीले आफ्नो स्थानीय तहबाट सिफारिस पत्र ल्याउनु पर्ने बताएका हुन ।

निशुल्क उपचारको यो सुविधा देशभरका नागरिकका लागि उपलब्ध हुनेछ, जसले गर्दा आर्थिक अभावका कारण उपचार नपाइरहेका व्यक्तिहरूलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनेछ। बालेनले अस्पतालहरूले कानुनी प्रावधानअनुसार १०% ओछ्यान अनिवार्य रूपमा गरीब र लक्षित समूहका लागि छुट्याउनुपर्नेमा जोड दिएका छन्। उनले अस्पतालहरूले यो प्रावधानको पालना नगरेको अवस्थामा कानुनी कारबाहीको लागि सरकारसँग माग समेत गरेका छन्। शाहले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको र यसको पालना तीन तहको सरकारले गर्नुपर्ने उल्लेख गर्दै, आफू यस अभियानमा प्रतिबद्ध रहेको बताएका छन्।

महानगरपालिकाले देशभरका नागरिकलाई आवश्यक परेको समयमा उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो पहल अघि सारेको हो। यसअघि पनि बालेनले काठमाडौंमा स्वास्थ्य संस्थाहरूले कानुनको उल्लङ्घन गरेको भन्दै कारबाहीको माग गर्दै आएका थिए।

शाहको यो निर्णयले खासगरी विपन्न तथा कमजोर वर्गका मानिसहरूलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ, र यसले समग्र रूपमा काठमाडौं महानगरपालिकालाई सामाजिक सेवा क्षेत्रमा थप अग्रसर बनाउने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: आइतवार, भदौ ३०, २०८१, ०९:२४:००
प्रतिक्रिया दिनुहोस्