स्थानीय

बाग्लुङ पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या आठ पुग्यो, २५ जना अझै बेपत्ता ।

Samayapati

भदौ १८

बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ भने २५ जना अझै हराइरहेका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले हराएका र मृतकको संख्या अझै बढ्न सक्ने बताउनु भएको छ ।मेयर नेपालीका अनुसार ढोरपाटनको भुदीखोलामा गएराति एक्कासी आएको बाढीले खोला किनारका ५० भन्दा धेरै घर बगाएको छ ।राति १२ बजे एक्कासी बाढी आउँदा सुतिरहेकाहरु उठेर भाग्न पनि पाएका थिएनन् । बाढीले भुदीखोला लघुजलविद्युत र एउटा गाडी पनि बगाएको छ ।खोजी र उद्धारको लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ । घटनास्थल सदरमुकामबाट एक सय १५ किलोमिटरभन्दा टाढा रहेकाले उद्धार र राहतमा ढिलाइ भइरहेको छ ।ठूलो पानी परिरहेको बेलामाथितिर कतै ताल फुटेर वा बाँध बनेर एक्कासी बाढी आएको हुन सक्ने उपमेयर करमती पुनमगरले बताउनुभयो ।


प्रकाशित मिति: बिहिवार, भदौ १८, २०७७, १२:४६:००
प्रतिक्रिया दिनुहोस्