स्थानीय

बाँकेको कोहलपुर-२ तेह्र विगाहमा ‘१५औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८१ आजबाट सुरु!

Samayapati

बाँकेको कोहलपुर नगरपालिका–२ तेह्र विगाहमा ‘१५औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८१ आजबाट सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले १५ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८१ सञ्चालन गरेको हो ।

यो प्रतियोगितामा कोहलपुर बैजनाथ र राप्ती सोनारी गरी २६ वटा संस्थागत विद्यालयहरूले भाग लिएका छन्। प्रतियोगिता पौष ४ गतेदेखि पौष ६ गतेसम्म सञ्चालन हुने कार्यक्रम निर्धारित गरिएको छ।

आजका कार्यक्रमका अध्यक्ष बेगम प्रकाश चन्दको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका कार्यवाहक मेयर कोहलपुर वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्र कुमार शाहले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

  उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि शाहले खेलकुदको महत्त्व र त्यसको विकासका बारेमा चर्चा गर्दै भने "खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, समाजमा मेलमिलाप र एकता पनि कायम राख्छ। यस प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूको बहुआयामिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन यस्ता कार्यक्रमलाई कोहलपुर नगरपालिकाले सहयोग गरेको र आउदा दिनहरुमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

विशिष्ट अतिथि बाँके राष्ट्रिय निकुञ्जका अधिकृत वीरेन्द्रप्रसाद पौडेल, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख धर्मराज भण्डारी, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्मा, नेसनल प्याप्सनका केन्द्रीय महासचिव कुसुम राणा, केन्द्रीय सदस्य बामदेव न्यौपाने, श्यामबहादुर कुँवर र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले खेलकुद बिकासको बारेमा आ-आफ्ना धारणा राखेका थिए।  विशिष्ट अतिथि वीरेन्द्रप्रसाद पौडेलले वन्यजन्तु संरक्षण र खेलकुद गतिविधिहरूबीचको सम्बन्धबारे चर्चा गर्दै भने, "खेलकुद र प्रकृति दुबैको संरक्षण आवश्यक छ। युवाहरूलाई खेलकुदमा भाग लिन उत्साहित गराउनुपर्छ ताकि उनीहरू स्वस्थ र उर्जावान रहन सकून्।

" दोस्रो विशिष्ट अतिथि कोहलपुर ईलाका प्रहरी कार्यालय प्रमुख  धर्मराज भण्डारीले सुरक्षा र अनुशासनको महत्त्वबारे जोड दिँदै भने, "खेलकुदको कार्यक्रमहरूमा सधैं सुरक्षा र शान्ति कायम राख्नुपर्ने हुन्छ। हामी सबैको जिम्मेवारी हो कि हामी सबैलाई सुरक्षित वातावरणमा खेलकुदको अवसर प्रदान गरौं।

 विशिष्ट अतिथि दानबहादुर हमालले खेलकुदले विद्यार्थीहरूको शिक्षा र चरित्र निर्माणमा सहयोग पुर्याउँदछ भने, "स्मार्ट शिक्षा र खेलकुद दुबैको तालमेलमा शैक्षिक उत्कृष्टता हासिल गर्न सकिन्छ।" समारोहमा अन्य अतिथिहरूले पनि खेलकुद र शारीरिक विकासका फाइदाबारे आफ्नो विचार राखेका थिए। कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले स्थानीय सरकारले खेलकुद गतिविधिहरूको लागि अझै बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न संघसंस्था, शिक्षक, शिक्षिका, विद्यार्थी र पत्रकारहरूको व्यापक सहभागिता रहेको थियो। अन्त्यमा, समापन समारोहका अध्यक्ष बेगमप्रकाश चन्दले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए। कोहलपुरको यस प्रतियोगिताले खेलकुदको क्षेत्रमा नयाँ उचाइहरू चुम्ने र युवाहरूमा सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित मिति: शुक्रवार, माघ ४, २०८१, ०४:५४:००
प्रतिक्रिया दिनुहोस्