स्थानीय

कोहलपुरका महिलाहरूको सामूहिक प्रयास: नयाँ सहकारी भवनको उद्घाटन।

Samayapati

कोहलपुर  नगरपालिका वडा नम्बर ११ स्थित बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

उक्त भवनको निर्माण लागत लगभग १ करोड ४२ लाख ४२,८१२ रुपैयाँ रहेको छ, जुन कोहलपुर नगरपालिकासहित विभिन्न सेयर सदस्यहरूको सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्ष गिता वलीको अध्यक्षतामा  प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले नवनिर्मित भवनको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै  प्रमुख अतिथि आचार्यले सहकारी संस्थाले महिला सशक्तीकरण र सामाजिक सेवामा गरेको योगदानको प्रशंसा गर्दै यस संस्थाको विकास र विस्तारको आवश्यकता औंल्याए। उनले भने, "महिला सशक्तिकरणका लागि यस संस्थाको योगदान महत्त्वपूर्ण छ। यस भवनको उद्घाटनले समुदायमा नयाँ उर्जा र प्रेरणा थप्ने छ।

कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुबेदीले पनि आफ्नो भनाइ राखेकी थिइन्। उनले सहकारी संस्थाको कामलाई उच्च सम्मान गर्दै महिलाहरूको सहभागिता र सशक्तिकरणमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताइन्। "आजको यस समारोहले हामीलाई महिला सशक्तिकरणको महत्त्व बुझाउँछ। यस संस्थाले स्थानीय स्तरमा महिला समुदायको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ," उनले भनिन्।

यस कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्की, कार्यकारी निर्देशक लजना मानन्धर, कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरिसिंह कठायत, कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। साथै, नगरपालिका आर्थिक विकास शाखा संयोजक अनिता बिसी र कार्यपालिका सुशासन संयोजक सुनिता बिष्टको पनि उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा ११ जना व्यक्तिहरूलाई सम्मानित पनि गरिएको थियो। सम्मान प्राप्त गर्नेहरूमा बलाराम शर्मा, कर्ण ब. थापा, अम्मर खत्री, इन्द्रमणि ढकाल,रेशम गिरी र लाल ब.राना, लाल बहादुर बुढाथोकी , भुपेन्द्र शिह , गोपाल बोहरा , यज्ञ खत्री  रहेका थिए। यस अवसरमा गीता ओलीले संस्थाका योगदानहरूलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप विकास र समृद्धिका लागि थप प्रयास जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन्।

यस सहकारी संस्थाले १६ वर्षअगाडि सुकुम्बासी भूमिहीन अवस्थाका महिला दिदीबहिनीहरूको प्रयासबाट शुरु भएको थियो। स्थानीय महिलाहरूको यो समूहले समयसँगै प्रगति गर्दै सहकारी ऐन २०४८ अन्तर्गत २०६३ सालमा नेपालगञ्ज बाँकेमा दर्ता गरेको थियो। सुरुमा केवल १० रुपैयाँ बचत गर्दै स्थापना भएको यस संस्थामा अहिले १८५६ महिला सदस्य आबद्ध भइसकेका छन्। संस्थाले अहिले सम्म विभिन्न सामाजिक कार्यहरूमा योगदान पुर्याउँदै आएको छ। यसले आवास कार्यक्रम सञ्चालन गरी ६२९ वटा शौचालय सहित घर निर्माण गरिसकेको छ। त्यस्तै, कोहलपुर खानेपानी उपभोक्ता संस्था र कोहलपुर नगरपालिका संग मिलेर १६३ वटा धारा निर्माण गरेको छ। यस संस्थाले कोहलपुर नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्दै पिउने पानीको लागि ९९ वटा बायोस्यान्ड फिल्टरमा पनि लगानी गरेको छ। अध्यक्ष गीता ओलीले संस्थाको हालसम्मको उपलब्धिहरूको उल्लेख गर्दै सामाजिक क्षेत्रमा गरेको योगदानलाई अवलम्बन गर्दै नयाँ योजनाहरू पनि संचालन गर्दै जाने प्रतिबद्धता जनाइन्।

"हामी सबैले मिलेर समाजको उत्थानमा योगदान पुर्याउने छौं, र यो नयाँ भवन संस्थाको लागि एक नयाँ शुरुवातको प्रतीक हो," उनले भन्दै आजको कार्यक्रमको समापन गरेकी थिइन। 


प्रकाशित मिति: बिहिवार, पुष २५, २०८१, ०३:४४:००
प्रतिक्रिया दिनुहोस्