गुरुङ समुदायको २६१०औं तमु ल्होसार पर्व कोहलपुरमा भव्यताका साथ सम्पन्न!
स्थानीय
गुरुङ समुदायको २६१०औं तमु ल्होसार पर्व कोहलपुरमा भव्यताका साथ सम्पन्न!
कोहलपुर, बाँके – गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद् कोहलपुर इकाई समितिले आज भव्य कार्यक्रमको आयोजना गरेको छ।
२६१०औं तमु ल्होसार विशेष कार्यक्रमका साथ कोहलपुरमा सम्पन्न भएको हो।
गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि आचार्यले तमु ल्होसारजस्ता सांस्कृतिक पर्वहरूले विविधतायुक्त समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले गुरुङ समुदायको संस्कृतिको संरक्षण र प्रवर्द्धनमा कोहलपुर नगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
विशिष्ट अतिथि कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि बहादुर कठायतले गुरुङ समुदायको योगदानले कोहलपुरको सामाजिक समृद्धिमा महत्त्वपूर्ण स्थान राख्ने बताए।
विशेष अतिथिहरूमा कोहलपुर वडा नं. १० की अध्यक्ष गौरा भट्टराई, कोहलपुर वडा नं. ८ का अध्यक्ष लालबहादुर राणा, नेपाल मगर संघ बाँकेका अध्यक्ष भूपेन्द्र पुन मगर, तामाङ गेतुङ संघ बाँकेका अध्यक्ष सरोज तामाङ, र शेर्पा संघ बाँकेका अध्यक्ष लाक्पा शेर्पाको उपस्थिति रहेको थियो। उनीहरूले ल्होसारको महत्वबारे आफ्नो धारणा राख्दै गुरुङ समुदायप्रति सम्मान प्रकट गरे।
विविध सांस्कृतिक प्रस्तुति गुरुङ समुदायको संस्कृति झल्किने विभिन्न नृत्यहरूको प्रस्तुति कार्यक्रममा आकर्षणको केन्द्र बन्यो। राष्ट्रिय कलाकार रामजी खाड र शोभा गुरुङले मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति दिए। साथै, गुरुङ समुदायका विभिन्न विधामा योगदान दिने व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। उत्साही सहभागिता कार्यक्रममा गुरुङ समुदायका हजारौं व्यक्तिहरूको उत्साहजनक सहभागिता देखियो। कोहलपुरका विभिन्नबाट उपस्थित भएका सहभागीहरूले परम्परागत पोशाक र संस्कार प्रदर्शन गरी पर्वको महत्त्व झल्काए।
कार्यक्रमको समापन सत्रमा सभाध्यक्ष शेरबहादुर गुरुङले तमु ल्होसारको सफल आयोजनाका लागि सबै सहभागी, अतिथि, र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे। उनले गुरुङ समुदायको मौलिक संस्कृति र पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमले प्रेरणा दिने बताए। तमु ल्होसार जस्तो पर्वले विविधतायुक्त नेपाली समाजमा सहिष्णुता, सहअस्तित्व, र संस्कृतिको संरक्षणलाई मजबुत बनाउने विश्वास साथ कार्यक्रम समापन गरियो भने कार्यक्रमको कुशल उद्घोषक सुधन गुरुङले गरेका थिए।
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!