स्थानीय

मयुर मध्यवती सामुदायिक वनको १२औँ वार्षिक साधारण सभा सम्पन्न।

Samayapati

 बैजनाथ गाउँपालिका–४, कोहलपुर–१ र ३, बाँकेस्थित मयुर मध्यवती सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १२औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।

 स्थानीय वन स्रोतको दिगो संरक्षण, जैविक विविधताको प्रवर्द्धन, वन क्षेत्रको व्यवस्थित व्यवस्थापन, र उपभोक्ताहरूको आर्थिक तथा सामाजिक विकासलाई सुदृढ बनाउनु हो।

 कार्यक्रमको अध्यक्ष चित्र बहादुर चन्दको अध्यक्षतामा  कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बर्दीप्रसाद जैसीले ब्यानर पढेर  उद्घाटन गरेका थिए।  उद्घाटन सत्रमा बोल्दै  प्रमुख अतिथि जैसीले मयुर मध्यवती सामुदायिक वनले वन संरक्षण र व्यवस्थापनमा पुर्‍याएको योगदानप्रति प्रशंसा व्यक्त गरे। उनले भने, "स्थानीय समुदायको सहकार्यले दिगो विकास सम्भव छ। यस समूहले वन संरक्षणका साथै आर्थिक र सामाजिक उत्थानमा उदाहरणीय कार्य गर्दै आएको छ।

" विशिष्ट अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव रिजालले वन समूहले उपभोक्ताको हितका लागि गरेको कार्यको प्रशंसा गरे। उनले भने, "सामुदायिक वनले स्थानीय स्रोत र साधनको उचित उपयोग गर्दै वन क्षेत्रको व्यवस्थापनमा एक महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।"

कार्यक्रममा अन्य अतिथिहरूले संयुक्त रूपमा समूहका प्रयासहरूप्रति प्रशंसा व्यक्त गरे। उनीहरूले भविष्यमा समूहले अघि बढाउन सक्ने योजनाहरूका लागि सुझाव पनि राखे। सहभागी अतिथिहरूले सामुदायिक वनलाई दिगो विकासका लागि अझ सबल बनाउँदै वन क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्न प्रेरित गरे।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि समूहको कुल आम्दानी रु ८४,२५,११४ रहेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनमा वन क्षेत्रको व्यवस्थापन, सामुदायिक कार्यक्रमहरू, र समूहको आयआर्जनका विविध पक्षहरूको विवरण प्रस्तुत गरिएको थियो। यो प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरियो। कार्यक्रममा वन उपभोक्ता समितिका सदस्यहरू, स्थानीय उपभोक्ता, र समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।सबै सहभागीहरूले समूहको कार्यप्रति सकारात्मक धारणा राख्दै आगामी दिनमा अझ प्रभावकारी योजनाहरू कार्यान्वयन गर्न सामुदायिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सहजीकरण निवर्तमान  सचिव तथा संचालक समितिका सदस्य  तुलसीराम बेलबासेले गरेका थिए। उनको प्रभावकारी सहजीकरणले कार्यक्रमलाई सहज र व्यवस्थित बनायो। कार्यक्रमको अन्त्यमा अध्यक्ष चित्रबहादुर चन्दले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे। उनले समूहका भावी योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न उपभोक्ताहरूको सहयोगलाई निरन्तरता दिन आग्रह गरे। अध्यक्षले सामुदायिक वन व्यवस्थापनमा सबैको योगदानलाई महत्व दिँदै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।


प्रकाशित मिति: शनिवार, मंसिर २२, २०८१, ०८:१२:००
प्रतिक्रिया दिनुहोस्