स्थानीय

संकल्प जनसेवा बहुउद्देश्यीय सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न !

Samayapati

कोहलपुर नगरपालिका वडा नम्बर ५ मा रहेको संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाले आज शनिबार  आफ्नो१८औँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ।

मर्यादित ब्यबसाय प्रबिधिमा सहकारी भन्ने मुल नाराका साथ  संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो १८  बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

कार्यक्रम संस्थाका अध्यक्ष माया गौतमको अध्यक्षतामा  कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नम्बर १ का माननीय सांसद सूर्य ढकालले पानसमा बत्ती बालेर आजको कार्यक्रमको उद्घाटन गरेका हुन। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि ढकालले सहकारी क्षेत्रले आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले सहकारीहरूले समुदायस्तरमा आर्थिक सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। “सहकारीहरूको प्रभावकारी सञ्चालनले स्थानीय व्यवसाय र रोजगारीका अवसरमा वृद्धि हुन सक्ने छ,” उनले थपे।

कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले सहकारीहरूको महत्वको चर्चा गर्दै त्यसलाई अझ पारदर्शी र प्रभावकारी बनाउन सुझाव दिए। उनले सहकारीको योगदानले स्थानीय विकासलाई थप गति दिने विश्वास व्यक्त गरे।

त्यस्तै, आस्था सहकारी संस्थाका अध्यक्ष हरि चालिसेले सहकारीहरूको माध्यमबाट सामाजिक तथा आर्थिक रूपान्तरण सम्भव भएको चर्चा गरे। चालिसेले सहकारीहरूको प्रभावकारी सञ्चालनले मात्र सदस्यहरूको आर्थिक हित सुनिश्चित हुने बताए।

संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक दुर्गा देवी पौडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाले १७९६ शेयर सदस्यहरूका साथ कारोबार २० करोड ८१ लाख ५६ हजार ४०३ रुपैयाँ पुर्‍याएको जानकारी दिइन्। संस्थाले ५५ हजार ३७ रुपैयाँ ४२ पैसा खुद नाफा आर्जन गरेको समेत उनले बताइन्। हाल संस्थामा ११ जना कर्मचारी कार्यरत रहेको पनि उल्लेख गरिएको छ।कार्यक्रमका सचिव भगवती बरालले संचालन गरेकी थिइन्। कार्यक्रममा सहभागी अतिथिहरूले सहकारीका उपलब्धिहरूको प्रशंसा गर्दै थप विकासका लागि सुझाव प्रस्तुत गरे।

कार्यक्रमको समापन सत्रमा संस्थाकी अध्यक्ष माया गौतमले बार्षिक   प्रतिबेद प्रस्तुत  गरिन् उनले सबै सदस्य र कर्मचारीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकारीको व्यवसायलाई अझ मर्यादित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। संकल्प जनसेवा बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा संस्थाको विकास, पारदर्शिता र समुदायप्रतिको जिम्मेवारीलाई बलियो बनाउने उद्देश्यले सम्पन्न भएको जानकारी दिइएको छ।


प्रकाशित मिति: शनिवार, मंसिर २२, २०८१, ०४:१५:००
प्रतिक्रिया दिनुहोस्