स्थानीय

बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!

Samayapati

बाँकेको बैजनाथ गाउँपालिका–७, पेडाडीस्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, स्थापना २०१६ सालदेखि नै शिक्षाको क्षेत्रमा प्रभावशाली योगदान गर्दै आएको छ।

विद्यालयमा हाल ४०७ जना विद्यार्थी अध्ययनरत रहेका छन भने यस  विद्यालयमा १९ जना कर्मचारी कार्यरत छन्, जसमा ९ जना स्थायी शिक्षक, ५ जना राहत शिक्षक, २ जना बालविकास शिक्षिका, १ जना निजी शिक्षक र २ जना अन्य कर्मचारी रहेका छन्।

प्रधानाध्यापक दामोदर उपाध्यायको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेश कुमार लामिछाने र सूचना अधिकारी धर्मबहादुर बुढाक्षेत्रीले विद्यालयलाई सुचारु बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। विद्यालयले विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला र पुस्तकालयको सुविधा उपलब्ध गराएर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विज्ञान प्रयोगशालामा आवश्यक सामग्री उपलब्ध गराइएको छ भने कम्प्युटर प्रयोगशालामा आधुनिक प्रविधिको पहुँच सहज छ। पुस्तकालयमा विद्यार्थी र शिक्षकका लागि आवश्यक शैक्षिक सामग्रीहरूको राम्रो व्यवस्था गरिएको छ।

प्रधानाध्यापक उपाध्यायका अनुसार, विद्यालयले बालबालिकाको सर्वांगीण विकासलाई प्राथमिकतामा राखेर शिक्षण विधि अवलम्बन गर्दै आएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष लामिछानेले सामुदायिक सहभागिता र शिक्षकहरूको मेहनतका कारण विद्यालयको शैक्षिक स्तर उन्नत बनाइएको जानकारी दिएका छन।

विद्यालयका सूचना अधिकारी बुढाथोकीका अनुसार, विद्यालयको भौतिक संरचना बलियो बनाउँदै प्रविधि र शिक्षामा नवीनतम सुधारका लागि विभिन्न योजना अघि सारिएको छ। स्थानीय समुदाय र अभिभावकहरूले समेत विद्यालयको विकासप्रति चासो देखाउँदै सहयोग गरिरहेका छन्। नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बालविकास कक्षादेखि माध्यमिक तहसम्मको शिक्षामा आफ्नो छवि स्थापित गरेको छ। विद्यार्थीहरूको सिर्जनशीलता र शैक्षिक सफलतामा सुधार गर्दै यहाँको शिक्षा प्रणाली अन्य विद्यालयका लागि प्रेरणादायी बनेको छ। विद्यालयले आगामी दिनमा थप आधुनिक शिक्षा प्रणाली र भौतिक पूर्वाधारको विकास गर्दै सामुदायिक विद्यालयहरूको उदाहरणीय मोडेलका रूपमा आफूलाई प्रस्तुत गर्ने योजना बनाएको छ।


प्रकाशित मिति: आइतवार, मंसिर २, २०८१, ०५:४२:००
प्रतिक्रिया दिनुहोस्