स्थानीय

"कोहलपुरमा डेङ्गु विरुद्ध जनचेतना अभियान: शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता"!

Samayapati

कोहलपुरमा डेङ्गु रोगविरुद्ध अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा सञ्चालन भएको यो कार्यक्रम बाँके स्वास्थ्य कार्यालयको सहकार्यमा कार्तिक २६ गतेदेखि सुरु भएको हो।

चार दिनसम्म चल्ने यो कार्यक्रममा कोहलपुर नगरपालिका क्षेत्रका १५ वटै वडाका निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको छ। नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेका अनुसार प्रत्येक दिन छुट्टाछुट्टै विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण दिइने समयपाटीलाई बताएका छन।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले जनस्वास्थ्यको महत्त्वमा जोड दिँदै नगरका सबै विद्यालयहरूमा डेङ्गु रोगको सन्देश पुर्याउन शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। "डेङ्गु जस्तो संक्रामक रोगको नियन्त्रणका लागि जनचेतना कार्यक्रमको प्रभावकारीता अनिवार्य छ, र यसमा विद्यालय स्तरमा शिक्षक शिक्षिकाहरूको भूमिका अहम छ," संयोजक विश्वकर्माले आफ्ना धारणा राखेका थिए।

त्यस्तै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर  शाहीले डेङ्गु रोगका लक्षण, सङ्क्रमण हुने तरिका र यसबाट बच्नका लागि  उपायहरूबारे सहभागीलाई अवगत गराउदै "डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्छ। यसका लक्षणहरूमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र आँखाको वरिपरि दुखाइ हुनेजस्ता लक्षण देखिन्छन्। सफाइमा ध्यान दिनु, पानी जम्न नदिनु र लामखुट्टे लाग्ने सम्भावित स्थानहरू हटाउनु यसबाट बच्नका महत्त्वपूर्ण उपाय हुन्," शाहीले सहभागीलाई जानकारी गराए।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरी, नगर स्वास्थ्य शाखाकी सिनियर अनमी लोकमाया भारती र संयोजक गंगा सिंहले समेत डेङ्गु नियन्त्रणका लागि नगरस्तरीय पहलको महत्त्वबारे धारणा राखेका थिए। सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा पनि यसबारे जानकारी गराउँदै विद्यार्थी र अभिभावकलाई सचेत गराउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा सहभागी भएका शिक्षक शिक्षिकाहरूमा आरती बोरा, भरत थारु, ज्ञानु कुमारी लम्साल, शान्तबहादुर अली, क्षेत्रबहादुर बिक, नगर शिक्षा अधिकृत रविलाल मिजार, खगेन्द्र श्री मगर, बर्दिनाथ सापकोटा, गणेशबहादुर ओली, दुर्गा श्रेष्ठ, विनोद शर्मा, कैलाश पाण्डे, राजेन्द्र केसी, बिना शाह, तुलसी तिमल्सेना, अस्मिता कँडेल, साधना थापा, अर्जुन राणा लगायत २३ जना सहभागी रहेका थिए। कार्यक्रमका प्रस्तुतकर्ता दुर्गा गौतमले प्रस्तुतकर्ताको भूमिका निर्वाह गरेकी थिइन।


प्रकाशित मिति: सोमवार, कार्तिक २६, २०८१, १२:५९:००
प्रतिक्रिया दिनुहोस्