स्थानीय

सामाजिक सञ्जालको टिकाटिप्पणीप्रति पत्रकारहरूको गम्भीर आपत्ति, पत्रकार आचारसंहिता उल्लंघन नगर्न चेतावनी!

Samayapati

 केही दिनयता कोहलपुर क्षेत्रमा सामाजिक सञ्जालमा आएका बिषयलाई लिएर आमसञ्चार माध्यमप्रति गरिएका अनावश्यक टिकाटिप्पणीप्रति कोहलपुरका समग्र पत्रकारहरूको गम्भीर ध्यानाकर्षण भएको छ।

विशेषगरी, पत्रकार आचारसंहिताको उल्लंघन गर्दै भ्रामक समाचार सम्प्रेषण तथा डर त्रास फैलाउने गतिविधिले पत्रकारिताको मर्यादामाथि प्रहार गरेको भन्दै पत्रकारहरूले सचेत गराएका हुन्।

सन्दर्भमा पत्रकारहरूले स्पष्ट पारेका छन् कि पत्रकारिता कुनै पनि हालतमा कसैको मानहानी गर्ने वा अराजकता फैलाउने माध्यम होइन। त्यसैले पत्रकार आचारसंहितालाई पालना गर्दै सचेत र सन्तुलित रिपोटिङ गर्नुपर्ने दायित्वमाथि उनीहरूले जोड दिएका छन्। पत्रकारिता आचारसंहिताले जनाए अनुसार, मिडिया कर्मीले विशेष संवेदनशीलता र संयमता अपनाएर महिलाहरू, बालबालिकाहरू, र संवेदनशील समूहहरूको विषयमा समाचार सम्प्रेषण गर्नु आवश्यक छ। आमनागरिकलाई भयभीत बनाउने खालका सामग्री सार्वजनिक गर्नु अनुचित भएको र यसले सम्पूर्ण पत्रकारिता क्षेत्रको प्रतिष्ठामा आँच पुर्‍याउने ठहर कोहलपुरका पत्रकारहरूको रहेको छ।

विशेष गरेर 'साहारा टिभी एचडी' नामक एक फेसबुक पेजमा आएका सामग्रीलाई लिएर पत्रकारिता क्षेत्रमाथि गरिएका आक्षेप र आरोपको विरोधमा पत्रकारहरूले कडा प्रतिवाद गरेका छन्। सामाजिक सञ्जालमा आएका कुनै पनि सामग्रीले कोहलपुरको समग्र पत्रकारिता क्षेत्रको प्रतिनिधित्व गर्दैन, र यसलाई पत्रकारिता पेशासँग जोडेर नहेर्न उनीहरूको आग्रह छ।

सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न अनुरोध गर्दै, पत्रकारहरूले आचारसंहिताको मर्मलाई सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। कोहलपुरको व्यवसायिक पत्रकारितामाथि समाजका केही वर्गद्वारा लगाइएका आरोप तथा बदनाम गर्ने प्रयासप्रति आपत्ति जनाउँदै, उनीहरूले यस प्रकारको गतिविधिलाई कानूनी कारवाहीका लागि सम्बन्धित निकायलाई पनि आग्रह गरेका छन्।

समग्रमा, कोहलपुरका पत्रकारहरूले मर्यादित र जिम्मेवार पत्रकारितामा आफ्नो दृढ प्रतिवद्धता व्यक्त गर्दै व्यवसायिक पत्रकारितालाई उचित सम्मान र स्थान दिन आग्रह गरेका छन्। उक्त भनाइ कोहलपुरका पत्रकारहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रकाशित मिति: सोमवार, कार्तिक १२, २०८१, १२:४७:००
प्रतिक्रिया दिनुहोस्