स्थानीय

नेपालगञ्जमा आदिवासी जनजाति महोत्सव: नायक विराज भट्ट , निखिल उप्रेती र पल शाहको विशेष सहभागिता!

Samayapati

बाँके, कार्तिक ४ – "विश्वभरि फैलिएका हामी जनजाति, हामी आदिवासी, जोगाइ राखौं भेषभूषा, भाषा र संस्कृति" भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद बाँकेले प्रथम कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव २०८१ सुरु गर्ने भएको छ।

महोत्सव कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगञ्जमा सञ्चालन हुनेछ भने महोत्सवको मुख्य उद्देश्य आदिवासी जनजाति कला संस्कृति संरक्षण गर्नुका साथै आर्थिक प्रवर्द्धन र पर्यटन विकास गर्नु हो।

महोत्सवमा २५० भन्दा बढी स्टलमा विभिन्न जातीय भेषभूषा, पौराणिक कला, हस्तकला, र कृषि तथा पर्यटनसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिनेछ। आयोजकले १२ जिल्लाका धार्मिक र पर्यटकीय स्थलहरूको पनि प्रदर्शनी गरिने जानकारी दिएका छन्।

नेपाल आदिवासी जनजाति महासङ्घ बाँकेका संयोजक डम्बर बहादुर थापाले महोत्सवले जनजाति संस्कृतिको संरक्षण र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले महोत्सवको सफलताका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन, र सञ्चारकर्मीहरूलाई सहयोगका लागि अपिल गरे।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको पनि उपस्थिति रहने छ। नायक विराज भट्ट, निखिल उप्रेती, पल शाह लगायतका चर्चित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हुनेछ। संयोजक थापाका अनुसार, महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। यो महोत्सवबाट संकलित रकम महासङ्घको भवन निर्माणका लागि प्रयोग गरिनेछ।

महोत्सवमा जातीय खाना प्रदर्शनी, कला प्रदर्शन, कृषि तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू, र विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिनेछन्। यसले स्थानीय व्यापारलाई प्रवर्द्धन गर्ने र पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।  नेपाल आदिबासी पत्रकार महासंघ बाँकेका सचिब राजन रानामगरले आजको कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सहजीकरण समीर मान श्रेष्ठले गरेका थिए। 

नेपालगञ्जमा आयोजना भएको यो महोत्सवले स्थानीयस्तरमा पर्यटन, व्यापार र संस्कृतिको विकासमा विशेष भूमिका खेल्ने आयोजकले बताएको छ।

!


प्रकाशित मिति: आइतवार, कार्तिक ४, २०८१, ०६:२८:००
प्रतिक्रिया दिनुहोस्