स्थानीय

"चाडबाडको मुखमा बाँके ट्राफिकद्वारा मोटरसाइकल चालकलाई सचेतना"!

Samayapati

चाडबाडको मुखमा मोटरसाइकल चालकलाई ट्राफिक नियमको बारेमा जानकारी दिँदै जिल्ला ट्राफिक कार्यालय बाँकेले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

ट्राफिक कार्यालयले मोटरसाइकल चालकलाई सडक सुरक्षाका मापदण्ड पालन गर्न र ट्राफिक नियमका आधारभूत कुरामा ध्यान दिन आग्रह गरेको हो।

कार्यक्रमका प्रमुख प्रशिक्षक बरिष्ठ सई प्रवीण आचार्यले मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालन गर्नुपर्ने महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, "चाडबाडको समयमा यातायातका साधनको चाप बढ्ने हुँदा सावधानी अपनाउनुपर्ने हुन्छ। हेलमेटको अनिवार्य प्रयोग, गति सीमा पालन, र संकेतको सही प्रयोगले दुर्घटनाबाट बच्न सकिन्छ।" प्रशिक्षणमा सहभागी भएका चालकहरूलाई विशेष गरी तीव्र गतिमा सवारीसाधन नचलाउन, गलत ओभरटेक नगर्न र लेन अनुशासन पालना गर्न सुझाव दिइएको थियो।साथै, मदिरा सेवनपछि सवारी नचलाउन विशेष जोड दिइएको छ। प्रवीण आचार्यले कार्यक्रमको क्रममा चाडबाडका समयमा हुने दुर्घटनाको प्रमुख कारणहरूबारे जानकारी गराउँदै भने, "चाडबाडमा मादक पदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिले दुर्घटनामा वृद्धि भएको छ।

यसलाई रोक्न सवारी चालकहरूलाई जिम्मेवार बनाउनुपर्छ।" कार्यक्रममा जिल्लाका करिब ५० भन्दा बढी मोटरसाइकल चालकहरू सहभागी भएका थिए। बाँके ट्राफिक कार्यालयले चाडबाडका समयमा नियमित रूपमा यस्ता सचेतना कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। ट्राफिक नियम पालन गर्नेलाई सम्मानित गर्ने योजना पनि ट्राफिक कार्यालयले अघि सारेको छ।

यस प्रकारका सचेतनामूलक कार्यक्रमले दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्दै सहभागीहरूले यस्तो अभियानलाई निरन्तर दिन आग्रह गरेको छ।


प्रकाशित मिति: बिहिवार, कार्तिक १, २०८१, ०८:२७:००
प्रतिक्रिया दिनुहोस्