स्थानीय

बाँके ट्रक तथा मिनी ट्रक व्यवसायी संघको विशेष अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन!

Samayapati

कोहलपुर बाँके– बाँके ट्रक तथा मिनी ट्रक यातायात व्यवसायी संघ प्रधान कार्यालय कोहलपुरले विशेष अधिवेशन २०८१ को उद्घाटन गरेको छ।

संघले नयाँ कार्यसमिति गठन गर्ने उद्देश्यले आज शनिबार कोहलपुरमा विशेष अधिवेशनको आयोजना गरेको हो।

आजको कार्यक्रम संघका अध्यक्ष खुम बहादुर खत्रीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष त्रियोगी नारायण अग्रवालले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए।

उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि अग्रवालले व्यवसायीहरूको हकहित र अधिकारका लागि संघले खेलिरहेको भूमिकाको चर्चा गर्दै भने, “संघको निरन्तर प्रयासले मात्र व्यवसायीहरूको समस्या समाधान गर्न सकिन्छ, व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउँदै अघि बढ्न सबैले मिलेर काम गर्नुपर्छ।”

विशिष्ट अतिथि कानुनी सल्लाहकार जय प्रसाद न्यौपानेले व्यवसायीहरूको कानुनी चुनौतीहरूका बारेमा सुझाव दिँदै संघलाई कानुनी सल्लाह आवश्यक भएको औंल्याए। उनले व्यवसायीहरूको कानुनी अधिकार सुनिश्चित गर्नका लागि संघले ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष डिल्ली बहादुर शिहले व्यवसायीहरूको हित संरक्षणमा संघको भूमिका प्रशंसनीय रहेको बताउँदै, “आगामी दिनमा व्यवसायीहरूका चुनौतीहरूलाई संगठित रूपमा सामना गर्न हामी सबै एकजुट हुनुपर्छ,” भने।

महासचिव दोब्बर खत्रीले संघले गरेका क्रियाकलाप र आगामी योजनाका बारेमा जानकारी गराउँदै, संघलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

नयाँ कार्यसमिति पनि अधिवेशनमार्फत गठन भएको छ। नयाँ कार्यसमितिमा अध्यक्ष डिल्ली बहादुर शिह चयन भएका छन्। अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष भुपेन्द्र बहादुर चन्द्र, उपाध्यक्ष कृष्ण नाथ योगी, महासचिव दोबरे खत्री, सचिव खगराज शाह, कोषाध्यक्ष टिकाराम वलि, र सदस्यहरू हिरालाल वलि, कृष्ण बहादुर कुवर, नरबहादुर थापा, र केशर ब. बिष्ट रहेका छन्।

नयाँ कार्यसमितिका अध्यक्ष शिहले आफ्नो मन्तव्यमा व्यवसायीहरूको हकहित र अधिकारको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्दै भने, “व्यवसायीहरूको हितका लागि हामी सबैले मिलेर काम गर्न आवश्यक छ, संघको एकताले मात्र हामीले चुनौतीहरूको सामना गर्न सक्छौं।”

कार्यक्रमको समापन सत्रमा अध्यक्ष खुम बहादुर गिरिले सबै अतिथि र सहभागीलाई धन्यवाद ज्ञापन गर्दै व्यवसायीहरूको एकतामा नै संघको सबैभन्दा ठूलो शक्ति रहेको बताए। उनले भने, “व्यवसायीहरूको एकता नै संघको भविष्य हो, र यसलाई बलियो बनाउँदै अघि बढ्न हामी संकल्पित छौं।”

आजको कार्यक्रमको कुशल  सञ्चालन महेन्द्र कुमार बिष्टले गरेका थिए।


प्रकाशित मिति: शनिवार, भदौ २९, २०८१, ०१:०७:००
प्रतिक्रिया दिनुहोस्