"राप्ती सोनारी–४ कुम्भरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: गुणस्तरीय शिक्षामा उदाहरणीय!"
स्थानीय
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को चन्दा आतंकको विरुद्धमा जीवन ज्योति स्कुलको आपत्ति!
कोहलपुर–१० स्थित जीवन ज्योति स्कुलले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी जिल्ला समिति बाँकेको चन्दा आतंकका विरुद्ध प्रेस विज्ञप्ति मार्फत गम्भीर आपत्ति जनाउँदै तीव्र खण्डन गरेको छ।
विद्यालय प्रशासनले विगत १२ वर्षदेखि गैरनाफामूलक रूपमा कोहलपुरमा सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्पष्ट गर्दै युनियनले लगाएको आरोपको पूर्ण रूपमा खण्डन गर्दै बुधबार पत्रकार सम्मेलन गरेको हो।
विद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि जीवन ज्योति स्कुल नेपाल सरकारको शिक्षा नीति तथा कोहलपुर नगरपालिकाको शिक्षा समितिको निर्देशन अनुसार नै सञ्चालन भइरहेको छ। विद्यालयले शिक्षा नियमावलीअनुसार अनिवार्य १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधानलाई पालना गर्दै आइरहेको र त्यसको दोब्बर छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिइएको छ। हालसम्म ६२८ विद्यार्थीले यस छात्रवृत्तिको लाभ उठाइसकेका छन्। विद्यालयले नगरपालिकाले तोकेको भन्दा कम शुल्क लिएर पठनपाठन गराउँदै आएको र सबै धर्म, जातजातिलाई सम्मानका साथ व्यवहार गर्ने गरेको स्पष्ट पारिएको छ। साथै, विद्यालयमा हाल २३०० विद्यार्थी अध्ययनरत रहेको र १०५ शिक्षक तथा ६० जना कर्मचारी कार्यरत रहेको जनाइएको छ।
विद्यालयले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी समूहले विद्यालयमा आएर अस्वाभाविक रूपमा ५० हजारभन्दा बढी चन्दा मागेको र सो रकम नदिए विद्यालयलाई क्षति पुर्याउने धम्की दिएको खुलासा गरेको छ। विद्यालयका प्रधानाध्यापक फादर जोमन जेम्सले २०८१ साउन २४ गते विद्यालय परिसरमा आएको तीनजनाको समूहले चन्दा माग गरेको र उक्त रकम नदिए विद्यालयमा क्षति पुर्याउने धम्की दिएको बताए। घटनापछि विद्यालय प्रशासनले प्रहरी प्रशासनको सहयोगमा उनीहरूलाई विद्यालय परिसरबाट बाहिर पठाएको र तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराएको उनले जनाए। प्रधानाध्यापक जेम्सले थपे, "विद्यालयलाई लक्षित गरी धम्कीपूर्ण गतिविधिहरू हुनु दुर्भाग्यपूर्ण हो। हामीले सदैव कानूनको परिधिभित्र रहेर विद्यालय सञ्चालन गरेका छौं, र विद्यालयले गरेको योगदानलाई समाजले राम्रोसँग बुझेको छ। कुनै पनि राजनीतिक संगठनले यसरी जबरजस्ती चन्दा माग्नु अस्वीकार्य छ।" उनले विद्यालयले विगतमा कोरोना महामारी, बाढीपीडित, भूकम्प पीडित, असहाय अनाथ बालबालिका तथा सरकारी विद्यालयहरूमा साधन र स्रोत सहयोग गर्दै आएको स्मरण गराउँदै यस्तो गतिविधि एक शिक्षण संस्थाको लागि निन्दनीय रहेको बताए।
विद्यालयले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी समूहले धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा समेत पोस्ट गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो हर्कतलाई गैरकानुनी ठहर गरेको छ। विद्यालयले यस्ता जबरजस्ती चन्दा माग्ने कार्यहरू सभ्य समाजमा सह्य नहुने बताउँदै, यसप्रति सम्बन्धित पक्षले गम्भीर ध्यान दिनुपर्ने आग्रह गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलराम चौधरीले भने, “जीवन ज्योति स्कुल विगतदेखि नै समाजमा सबैलाई गुणस्तरीय शिक्षा दिनका लागि समर्पित छ। विद्यालयले कोहलपुरमा ठूलो योगदान पुर्याएको छ। हामीले नीतिगत रूपमा छात्रवृत्ति वितरणलाई सधैं प्राथमिकतामा राखेका छौं र यसमा हाम्रो प्रतिबद्धता अझ सुदृढ छ। यस्ता अनधिकृत चन्दा माग्ने कार्यले हाम्रो शैक्षिक संस्थाको गतिविधिमा कुनै असर पार्न सक्दैन।” अध्यक्ष चौधरीले समाजका सबै पक्षलाई यस्ता चन्दा माग्ने धम्कीपूर्ण गतिविधिहरूको निन्दा गर्न आह्वान गर्दै भने, “विद्यालय कुनै एक धर्म वा जातमा आधारित नभई, सबै समुदायलाई समान रूपमा शिक्षा दिने उद्देश्यका साथ स्थापित भएको हो। हामीले विद्यार्थीहरूको भविष्यलाई प्राथमिकतामा राख्दै शिक्षा दिने काम गरिरहेका छौं, र विद्यालयलाई राजनीतिक विषयमा अनावश्यक रूपमा तान्नु गलत हो।”विद्यालयले यस्ता धम्कीपूर्ण गतिविधिहरू अस्वीकार गर्दै कुनै अप्रिय घटना भएमा सम्बन्धित पक्ष नै जिम्मेवार हुने चेतावनी दिएको छ।विद्यालय प्रशासनले स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता गतिविधिहरू दोहोरिन नदिन आग्रह गरेको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू चण्डी गैरे, बलबहादुर खड्का लगायतका सदस्यहरूको उपस्थिति थियो। त्यस्तै, विभिन्न सञ्चारकर्मीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक जेम्सका अनुसार, "जीवन ज्योति स्कुलको मुख्य उद्देश्य शिक्षा मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। हामीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छौं, र भविष्यमा पनि यस्तै सकारात्मक कार्यहरूलाई निरन्तरता दिनेछौं।"
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!