स्थानीय

कोहलपुरमा १८औं राष्ट्रिय दिवस: मानव बेचबिखनविरुद्ध सरकारको एकता।।

Samayapati

 कोहलपुर, बाँके – "मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवस" को अवसरमा कोहलपुरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

"तिनै तहका सरकारको प्रतिबद्धता, मानव बेचबिखन विरुद्धको सबैको एकीबद्धता" भन्ने नाराका साथ आयोजित यस कार्यक्रममा मानव बेचबिखनको समस्या, चुनौती र समाधानका विविध पक्षहरूमा गहिरो छलफल गरिएको हो।

कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण उपशाखाद्वारा सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता कोहलपुर नगरपालिका आर्थिक विकास शाखाकी संयोजक अनिता बुढाथोकीको अध्यक्षतामा प्रमुख अतिथि  कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईस्वरी प्रसाद विश्वकर्माले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए।

उद्घाटन सत्रमा बोल्दै   प्रमुख अतिथि विश्वकर्माले “हाम्रो नेपाली समाजमा विभिन्न खालका समस्याहरू रहेका छन्। चाहे त्यो नैतिक हिंसा होस्, चाहे घरेलु हिंसा वा जातीय विभेद होस्, ती सबैको चक्रभित्र मानव बेचबिखन पनि एक गम्भीर समस्या हो। यसलाई न्यूनीकरण गर्नका लागि तिनै तहका सरकारहरूले प्रयास गरिरहेका छन्, तर अवसर प्रदान गर्ने नाममा र रोजगारी सिर्जना गर्ने बहानामा अझै पनि मानवीय शोषण भइरहेको छ। यसलाई रोक्न सरकारले थप जिम्मेवारी बहन गर्नुपर्छ।”

विशिष्ट अतिथि:  कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत तथा नगर शिक्षा प्रमुख राम बहादुर हमालले आफ्ना विचार राख्दै भने, “मानव बेचबिखनविरुद्धको लडाइँमा शिक्षा प्रमुख हतियार हो। हामीले समाजलाई शिक्षित गर्दै यस समस्याविरुद्ध लड्नुपर्छ। यसका लागि सबै तहका सरकार र समुदायबीचको सहकार्य अपरिहार्य छ।”

कार्यक्रममा सामुदायिक रेडियो प्रतिबोध एफएमका स्टेशन म्यानेजर हेमन्त बि.क., शान्तिपूर्ण स्थापना केन्द्रकी सीमा शाही, रोजगार सेवा केन्द्रका शिव परियार, कृष्टी आचार्य, सुशासन समिति संयोजक  सुनिता कुमारी राना बिष्ट र ललित रेग्मी , प्रशिक्षक युबराज पोखरेल, लाल बहादुर बुढाथोकी  उपस्थित थिए। अतिथिहरूले मानव बेचबिखनविरुद्धका विभिन्न आयाममा आफ्नो-आफ्नो तर्फबाट योगदानको प्रतिबद्धता जनाउँदै कार्यक्रमलाई सफलताको शुभकामना दिए।

कार्यक्रमका अन्त्यमा अध्यक्ष अनिता बुढाथोकीले आफ्नो भनाइ राख्दै, “मानव बेचबिखन जस्तो संवेदनशील मुद्दालाई समाधान गर्न हामी सबैको प्रयास एकीकृत हुनुपर्छ। यो केवल कानुनी प्रश्न मात्र होइन, यसमा सामाजिक, सांस्कृतिक र आर्थिक पक्षहरू पनि जोडिएका छन्, जसलाई सामूहिक रूपमा सम्बोधन गर्नु आजको आबश्यक्ता रहेको बताउदै कार्यक्रम समापन गरेकी थिइन ।” अन्तमा कार्यक्रमको सहजीकरण मीठो भाषा र सरल शैलीमा  तारा भण्डारीले गरेकी थिइन ! उपस्थित  यस कार्यक्रममा सहभागी अतिथिहरूले तिनै तहका सरकार, स्थानीय संघसंस्थाहरू र समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।


प्रकाशित मिति: बिहिवार, भदौ २०, २०८१, ०४:१३:००
प्रतिक्रिया दिनुहोस्