स्थानीय

कोहलपुरमा अन्तर्राष्ट्रिय युवा दिवस भब्य रुपमा सप्पन्न।

Samayapati

कोहलपुर, बाँके— "अबसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउँछौं" भन्ने मूल नाराका साथ कोहलपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको प्रतिभा प्रदर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमले युवाहरूको सामर्थ्य र उनीहरूको सृजनशीलतालाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चको रुपमा कार्य गरेको हो।

कार्यक्रमको अध्यक्षता रमेश वरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा कोहलपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा वडा नम्बर १२ का वडा अध्यक्ष बिरेन्द्र बहादुर शाहले सहभागिता जनाउनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि शाहले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रमा शाहले युवाशक्तिको भूमिका र समाजमा युवाहरूले गर्न सक्ने योगदानबारे महत्वपूर्ण कुरा उठान गर्नुभयो। उहाँले विशेष रूपमा युवाहरूलाई समाजको परिवर्तनशील शक्ति मान्दै, समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने महत्वपूर्ण स्रोतको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, "युवाहरू मात्र समाजको नेतृत्व गर्न सक्छन्, समाजमा नवीनता र सकारात्मक ऊर्जा भरिदिन सक्छन्।"

विशिष्ट अतिथिका रूपमा उपस्थित कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईस्वरी प्रसाद विश्वकर्माले युवा दिवसको महत्त्वबारे व्यापक चर्चा गर्नुभयो। उहाँले युवाहरूले राष्ट्र निर्माणमा पुर्‍याउने योगदानको महत्त्वलाई स्पष्ट पार्दै, युवाहरूको सक्रियता र योगदानले मात्रै समाजलाई उन्नत बनाउन सकिने विचार व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई शिक्षा, रोजगार, उद्यमशीलता, र सामाजिक सेवामा समर्पित गराउनुपर्ने कुरामा जोड दिनुभयो। विश्वकर्माले युवाहरूलाई निरन्तर आत्मसुधारमा ध्यान दिन र आफूलाई समाजको हितमा समर्पित गर्न प्रेरित गर्नुभयो।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सबै अतिथिहरूले आफ्नो-आफ्नो क्षेत्रमा युवाहरूको भूमिकाको महत्त्वबारे आ-आफ्नो धारणा राखे।

कार्यक्रममा युवाहरूका लागि विभिन्न प्रतिस्पर्धात्मक गतिविधिहरू पनि आयोजना गरिएको थियो। जसमध्ये, चित्रकला, कविता वाचन, नृत्य, र गायन प्रतियोगिताहरू प्रमुख आकर्षणका रूपमा रहेका थिए। यी सबै प्रतिस्पर्धाहरूले युवाहरूको सृजनशीलता र प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। विजेता प्रतियोगीहरूलाई प्रमुख अतिथि शाहद्वारा पुरस्कार वितरण गरिएको थियो।


प्रकाशित मिति: सोमवार, श्रावण २८, २०८१, ०९:३६:००
प्रतिक्रिया दिनुहोस्