स्थानीय

वडास्तरमा मोटर बोरिङ जडान

Samayapati

सिँचाइको पहुँच नभएको नेपालगन्ज(१८ का किसानका लागि वडास्तरमा मोटर बोरिङ जडान गरिएको छ । वडाध्यक्ष दीपककुमार बर्माले विभिन्न चरणमा हालसम्म ६५ थान मोटर बोरिङ जडान गरिएको जानकारी दिनुभयो । उहाँले आफू अघिल्लो कार्यकालमा पनि वडाध्यक्षको जिम्मेवारीमा रहेकाले किसानको न्यूनतम राहत कार्यक्रमअन्तर्गत खेतीयोग्य जमिन भएका किसान छनोट गरी मोटर बोरिङ जडान गर्ने कार्यक्रम अघि सारेको बताउनुभयो ।

बर्माले नहरमा पानी सुक्ने र मनसुन नहुँदा ब्याड राख्न र तरकारी खेतीका लागि सो बोरिङ सहयोगी हुने भएकाले यस्तो नीति अघि सारिएको बताउनुभयो । उहाँले किसानले मोटरसँगै विद्युतको माग पनि गरेका जनाउँदै डिजलको भरमा सिँचाइ गर्दा महँगो खेती हुने भएकाले विद्युत् जडानको माग गरेको जानकारी दिनुभयो । उहाँले त्यसका लागि विद्युत प्राधिकरणलाई सिफारिस गर्ने गरेको बताउनुभयो । आफ्नो वडा बहुसङ्ख्यक किसान बसोबास गर्ने भएकाले उनीहरूका लागि आवश्यक राहत कार्यक्रम पहल पनि भइरहेको वडाध्यक्ष बर्माको भनाइ छ । “सरकारी अनुदानको प्रभावकारी व्यवस्था नहुँदा किसान निराश अवस्थामा छन्”, उहाँ भन्नुहुन्छ ।


प्रकाशित मिति: आइतवार, असार २४, २०८१, ०५:४०:००
प्रतिक्रिया दिनुहोस्